राष्ट्रपति सी चिनफिङले दिए :काँग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो

चिनियाँ लगानी नेपालमा बढाउन सी संग देउवाको आग्रह

काठमाण्डौं,असोज,२६-

नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङले काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिनुभएको छ ।

शनिबार होटल सोल्टी क्राउन प्लाजामा भएको एक्लाएक्लै भेटमा राष्ट्रपति सीले देउवालाई चीन आउन निम्तो दिएको काँग्रेस सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेटेलगत्तै होटल फर्केका सीले देउवालाई भेट्नु भएको थियो ।

महतका अनुसार भेटमा सीले चिनियाँ कम्युनिष्ट पार्टी र काँग्रेसबीच पूरानो मित्रता रहेको बताउनु भएको थियो । सीले दुई पार्टीबीचको सम्बन्ध थप प्रगाढ बनाउन प्रस्ताव राखेको महतले बताउनुभयो । राष्ट्रपति सीले नेपालमा चीनविरोधी गतिविधि रोक्नका लागि प्रतिपक्षी दलको हैसियतमा भूमिका खेल्न आग्रह गर्नु भएको थियो । यस्तै देउवाले चीनको बीआरआई परियोजनामा सकारात्मक रहेको बताउनु भएको थियो ।

उहाँले चिनियाँ लगानी नेपालमा बढाउन आग्रह गर्नुभयो । विश्वको उदयीमान अर्थतन्त्र भएको मुलुक चीनबाट नेपालले विकासमा सहयोगको आशा राख्नु स्वाभाविक भन्दै देउवाले ठूला परियोजनामा सहयोग गर्न आग्रह गर्नु भएको थियो । एक चीन नीतिप्रति नेपाल र आफ्नो दल काँग्रेस प्रतिबद्ध रहेको भन्दै देउवाले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने प्रतिबद्धता जनाउनु भएको थियो ।