उपनिर्वाचनका लागि मतपत्र पुर्‍याइयो : आयोग

प्रदेशसभा सदस्यसहित ५२ पदका लागि उपनिर्वाचन हुने

काठमाण्डौं,मंसिर,९-

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ । निर्वाचन आयोगले आइतबार जनाएअनुसार नेपाली सेनाले मतपत्र र मतदाता परिचयपत्र उपनिर्वाचन हुने ३७ जिल्लामध्ये सुगम स्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरबाट ढुवानी गरी पुर्‍याएको हो ।

संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मा सेनालाई दिइएको हो । प्रतिनिधिसभा सदस्यको एक पदका लागि २१ र प्रदेशसभा सदस्यका तीन पदका लागि ४३ र स्थानीय तहका ४८ पदका लागि २ सय ७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यसैबिच : उपनिर्वाचनका लागि करिब ३२ हजार सुरक्षाकर्मी खटाउने गरी विशेष सुरक्षा कार्ययोजना तय गरेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उपनिर्वाचन सुरक्षा कार्ययोजना तय गरिएको जानकारी दिनुभयो । ‘उपनिर्वाचन र सागमा सेनाले बाहिरी तथा प्रहरी, सशस्त्र र अनुसन्धान विभागले आवश्यकताअनुसार भित्री घेरामा बसेर सुरक्षा प्रदान गर्नेछन्।
 
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंसिर ११ गते निर्वाचन बुथमा कर्मचारी र सुरक्षाकर्मी पुग्ने गरी आवश्यक तयारी गरिएको बताउनुभयो ।प्रवक्ता श्रेष्ठका अनुसार मुख्य निर्वाचन अधिकृतसहित उपनिर्वाचनमा करिब ५ हजार ५ सय कर्मचारी खटिने छन् ।५ सय ३७ मतदान केन्द्र र २ सय ४७ मतदान स्थल स्थापना गरिएको छ । कास्की–२ मा प्रतिनिधिसभा सदस्य र ३ प्रदेशसभा सदस्यसहित ५२ पदका लागि उपनिर्वाचन हुँनेछ ।