राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ताजस्तो हुनुभयो : सभापति देउवा

फाईल तस्विरमा : नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा !!
काठमाडौं,असार,१२-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाउनु भएको छ ।

संघीय संसद भवन नयाँवानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम गरेको दाबी गर्नुभयो।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उहाँले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको इसारामा चलेको आरोप लगाउनुभयो।

उहाँले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफूहरु संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत समक्ष पुग्न बाध्य भएको प्रष्ट पार्नुभयो।

‘राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने होइन? बहुमत पुर्‍याएर ल्याए पछि। कर्तव्य थियो नियुक्त गर्नु पर्थ्यो। ओलीको कार्यकर्ता जस्तो गरेर काम गर्न मिल्छ राष्ट्रपतिले?’, उहाँले भन्नुभयो, ‘त्यस कारण अदालतमा मुद्दा हालेका हौं। संविधानको व्याख्या गर्ने अन्तिम स्थान भनेको अदालत हो। अदालतले संविधानको रक्षा पनि गर्छ।’

सभापति देउवाले प्रधानमन्त्री ओली अधिनायवादी भएको दाबी गर्नुभयो।अधिनायकवादी र सर्वसत्तावादी शैलीका ओलीले आफ्नै पार्टीका नेतालाई पनि बाँकी नराखेको देउवाको टिप्पणी थियो।

‘प्रधानमन्त्री ओली न प्रजातन्त्रवादी हुन्, न त संविधानवादी हुन्। प्रधानमन्त्री ओली अधिनायकवादी हुन्। आफ्नै पार्टीकालाई त छाडेनन् अरुलाई के गन्थे’, देउवाको भनाई रहेको थियो।