भरतपुरमा पहिलो मतदान गर्नेमा प्रधानमन्त्री दाहाल

चितवनमा,वैशाख ,३१,-

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा मतदान गर्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर–४ का मतदाता रहनु भएका प्रधानमन्त्री प्रचण्डले चितवनमा पहिलो मतदाताको रुपमा विहान सात बजे लंकुको लक्ष्मी उच्च माविको मतदान केन्द्रमा मतदान गर्नु भएको हो ।

भरतपुर महानगरपालिकाको मेयर पदमा प्रधानमन्त्री दाहालकी पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ । यस्तै, नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गर्नु भएको छ ।

यस्तै, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बिहान सात बजे नै भक्तपुरको विद्यार्थी निकेतन मतदान केन्द्रबाट मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

यता नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आइतबार ११ बजेर ३० मिनेट जाँदा मतदान गर्नु हुनेछ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटको महेन्द्र शान्ति माविमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नु हुने अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

यस्तै पूर्वप्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रमा मतदान गर्नु हुनेछ ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।साभार नेपालवाणीबाट