निर्वाचनमा १८ जना मन्त्री विजयी

काठमाडौं, पुस,१-

वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल हुनुभएको हो । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य हुनुहुन्छ । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा रहनुभएको थियो ।

यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले पराजय भोग्नुभएको हो । निर्वाचनमा विजयी हुनेमा अधिकांश नेकपा माओवादी केन्द्रका विना विभागीय मन्त्री हुनुहुन्छ । निर्वाचनमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापा मकवानपुर १ बाट पराजित हुनुभएको छ । अर्का उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि स्याङ्जा २ बाट पराजित हुनुभयो ।

जनमत परीक्षणमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र विना विभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा सफल हुनुभयो । गच्छदार सुनसरी ३ र महरा दाङ २ बाट निर्वाचन हुनुभएको हो । आजको गोरखापत्रमा खबर छ ।