मनाङका विद्यालयहरु बन्द, अब फागुनमामात्र खुल्ने

लमजुङ, मंसिर,२९-

हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु जाडो बढेपछि बन्द भएका छन् । चालु शैक्षिकसत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् ।

मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको र अब फागुनमा नयाँ शैक्षिकसत्र सुरु भएपछिमात्र सन्चालनमा आउने जानकारी दिनुभयो ।

शिक्षा नियमावलीमा ५० दिनमात्र जाडो बिदाको प्रावधान भएपनि माथिल्लो मनाङमा करिब तीन महिना र तल्लो मनाङमा दुई महिना विद्यालय बन्द हुने गर्छन् ।

बाह्रै महिना हिउँ जम्ने भएकाले माथिल्लो मनाङका केही विद्यालयमा मुस्किलले ६ महिनामात्रै पढाइ हुने गरेको स्थानीय बताउँछन् । चार गाउँपालिका रहेको मनाङमा चारओटा माध्यमिक, सातओटा आधारभूत, १४ ओटा प्राथमिक र एक निजी विद्यालय छन् ।