राष्ट्रपतिलाई राष्ट्रिय सभा निर्वाचनसम्बन्धि अध्यादेश रोक्ने अधिकार छैनः नेपाल बार

काठमाण्डाैं,मंसिर,२९

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश रोक्ने अधिकार नभएको दावी गरेको छ ।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रिय सभाको निर्वाचन नभई मुलुकमा नयाँ सरकार गठन गर्ने संवैधानिक व्यवस्था नभएको प्रतिक्रिया पनि दिनु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संवैधानिक व्यवस्था अनुसार संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले पनि राष्ट्रिय सभाको गठन नभई संसदले पूर्णता नपाउने र संसद नबनी सरकार गठन गर्ने कुरा हुनै नसक्ने तर्क गर्नुभयो ।

अध्यक्ष केसीले संविधानको भावना विपरित अघि बढ्न राजनीतिक दलहरुलाई आफूहरुले नदिने चेतावनी पनि दिनु भयो ।

कार्यक्रममा बोल्दै संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले पनि संघीय संसदले पूर्णता पाएपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नु भयो । उहाँले सरकार संसदले बनाउनुपर्ने भएकाले संसदलाई पूर्णता दिने काम पहिलो काम भएको पनि बताउनु भयो ।

यता, निर्वाचन आयोगले पनि संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई समानुपातिकतर्फ विजयी उम्मेदवारहरु घोषणा गर्न नसक्ने जनाउ दिएको छ ।साभार नेपालवाणीबाट