राष्ट्रिय महत्वको कुनै पनि निर्णय अब याे सरकारले गर्दैनः प्रधानमन्त्री देउवा

काठमाण्डाैं,मंसिर,२९-

मधेस आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि गठित आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाएको थियो ।

प्रधानमन्त्री देउवाले आज आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले गर्ने बताउनु भएको छ । उहाँले सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने समेत बताउनु भयो ।

मधेश आन्दोलनको घटनाको सत्यतथ्यसहितको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ सरकारको हुने प्रधानमन्त्री देउवाले बताउनु भएको आयोगका अध्यक्ष लालले जानकारी दिनु भयो ।

आयोगले प्रतिवेदनमा सहिद घोषणा गर्न बाँकि ४ जनालाई पनि तत्काल सहिद घोषणा सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा मधेश आन्दोलनको क्रममा ६६ जनाको ज्यान गएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकि रहेको उल्लेख गरिएको छ ।