राष्ट्रपतिद्वारा सहमतिमा अघि बढ्न दलहरुलाई सुझाव

काठमाडौं, मंसिर २०- राष्ट्रपति विद्या भण्डारीले दलीय सहमतिमा अघि बढ्न विभिन्न दलका नेताहरुलाई सुझाव दिनुभएको छ ।संविधान संशोधनको विषयलाई लिएर राष्ट्रपति भण्डारीले आइतबार साँझ आयोजित सर्वदलीय बैठकमा यस्तो सुझाव दिनुभएको हो ।तल निवासमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी भएका थिए ।बैठकमा संविधान संशोधन, कार्यान्वयन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको र सबैको सुझाव लिएपछि राष्ट्रपति भण्डारीले सहमतिमा अघि बढ्न सुझाव दिएको जनाइएको छ ।

बैठकमा अधिकांशले मिलेर जानु पर्ने सुझाव दिएको र जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतले संविधान संशोधनको चर्को विरोध गरेका थिए ।एमाले भने केही सकारात्मक देखिएको र प्रधानमन्त्री पनि संविधान संशोधन प्रस्ताव परिमार्जन तयार रहेको जनाइएको छ ।मधेसी मोर्चाले भने राष्ट्रियता र समावेशी बुँदामा परिमार्जन गर्न माग गरेको छ ।सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा विरोध प्रदर्शन गर्दै आएको छ ।