यो चुनाव मेरो मात्र होइन, राष्ट्रकै परीक्षा हो : प्रधानमन्त्री

काठमाण्डौं,फागुन १७-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसमा देखिएको असन्तुष्टी संवोधन गर्न संविधान संशोधन गर्ने विश्वास दिलाउँदै निर्वाचनमा सहभागी हुन अपिल गर्नु भएको छ । आज राष्ट्रवासीलाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसको असन्तोष मत पत्रमार्फत ब्यक्त गर्न आग्रह गर्नुभयो । २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन घोषणा गर्दा आफूलाई संशय भन्दा गौरवबोध भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यो आफ्नो मात्र नभइ सिंगो देश र लोकतन्त्रको परीक्षा भएको दावी गर्नुभयो । यो निर्वाचन प्रधानमन्त्रीको मात्र परीक्षा होइन ।

लोकतन्त्र र राष्ट्रकै परीक्षा हो । झण्डै २० वर्षदेखि हुन नसकेको निर्वाचन घोषणा गर्दा मलाई अनिश्चय होइन गौरवको बोध भएको छ । उहाँले भन्नुभयो यो निर्वाचन लोकतन्त्र कार्यान्वयनका लागि यो ऐतिहासिक फड्को हो । उहाँले चुनावसागै गाली र ताली होइन विकासको प्रतिस्पर्धा हुने दावी गर्नुभयो । चुनावलाई महोत्सव भन्दै प्रधानमन्त्री प्रचण्डले विना संशय र विना हिचकिचाहट सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ ।

अहिले मधेसको हित नचाहनेहरु मधेसी जनताकै काँधमा बन्दुक राखेर परिवर्तन उल्ट्याउन खोजिरहेको भन्दै प्रधानमन्त्रीले प्रश्न गनुभयो । ’के यो षड्यन्त्र सफल हुन सकिन्छ?, के मधेसका जनता यसको हिस्सा बन्न सक्छन्? उहाँले मधेसमा स्थानीय तहको संख्या बढाउन सरकारले गम्भीर गृहकार्य गरिरहेको बताउनुभयो । अहिले तपाईहरुलाई एउटा अवसर मतपेटिकाको रुपमा दैलोमा छ। मधेसले उत्सवको रुपमा स्वीकार गर्ने कुरामा सरकार पूर्णत आशावादी भएको बताउनु भएको छ ।सभार थाहाबारबाट