बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय

काठमाण्डौं,फागुन, १७-सरकारले बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलबारको बैठकले अस्पताल स्थापनाको निर्णय गरेको हो । स्वास्थ्यमन्त्री गगन थापाका अनुसार प्रखर परोपकार मिसनले अस्पताल स्थापना गर्न २३ हजार स्क्वायरफिट जग्गा लिएर भवन समेत बनाएको थियो ।

साथै चालु आर्थिक वर्षको बजेटमा नै पश्चिमा क्यान्सर सेवा विस्तारका नाममा १० करोड दिने निर्णय समेत भएको थियो । तर, कांग्रेस नेता थापा स्वास्थ्यमन्त्री भएपछि यो अस्पताललाई सरकारको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गनुभयो । र, हालै मात्र जग्गा र यहाँ बनेका भौतिक संरचना सरकारको नाममा आएको छ ।

मन्त्री थापाले भन्नुभयो पूर्वप्रधानमन्त्री सुशील कोइराला बाँकेकै भएको र क्यान्सरका कारण निधन भएका कारण उहाँको नाममा राखिएको हो । साथै सुरुवात प्रखर परोपरकार मिसनले गरेकाले प्रखरलाई पनि नाममा समावेश गरिएको बताउनुभयो । मन्त्री थापाका अनुसार अस्पतालमा सेवा सुरु भएको छ । तर, क्यान्सरको उपचार सुरु गर्न आगामी वर्षको बजेटमा ८० देखि ९० करोड रकम छुट्याउनु पर्नेछ ।