उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं, कात्तिक,४-

निर्वाचन आयोगले आइतबार (भोलि) हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि ३२ ओटै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको जानकारी दिनुभयो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकिएकाले समयमा नै उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको छ ।

मनोनयन दर्ताका लागि शनिबार नै आयोगका कर्मचारी सम्बन्धित कार्यालयमा पुगिसकेको पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

उम्मेदवारलाई आचारसंहिता
यसैबीच : निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गरेपछि उम्मेदवारको हकमासमेत निर्वाचन आचारसंहिता लागू भइसकेको जनाउँदै निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको छ ।