पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक ४-

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा कात्तिक ५ अर्थात् भोलि उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न एक दिनमात्रै बाँकी छँदा पनि केही दलले अझै उम्मेद्वार टुंगो लगाइसकेका छैनन् । मूख्य तीन दलमध्ये वाम गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार टुंगो लगाइसकेका छन् भने नेपाली कांग्रेसले अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

कांग्रेसले टाढा टाढा जिल्लाका उम्मेदवार टुंग्याए पनि राजधानीनजिकका जिल्लाहरुमा अझै टुंग्याउन सकेको छैन । आज दिउँसो २ बजेसम्ममा सबै उम्मेदवारको नाम तय गरिने संसदीय समितिका सदस्य डा. रामशरण महतले जानकारी दिनुभयो ।

संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन गरिनेछ । त्यस्तै सात प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि पनि सोही दिन निर्वाचन हुनेछ ।नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कूल ७५३ स्थानीय तहको निर्वाचन यसअघि सम्पन्न भइसकेको छ ।