प्रधानमन्त्रीको सम्बोधनमा संसद सुचारु गर्नेदेखि स्वास्थ्य र अर्थतन्त्र सुधारसम्मको दाबी

काठमाडौं,माघ,७-प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बताउनुभएको छ ।संसद् सुचारु भएपछि सबै दलसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याउने उहाँको भनाइ छ ।

सरकार बनेको ६ महिनापछि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारमाथि एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेको बताउँदै निर्वाचनको पूर्वतयारीका आवश्यक काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान, संघीयता कार्यान्वयन एवम् प्रदेश र स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

कोरोना महामारी सामना गर्न खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जनाएको र अहिले पनि खोप अभियान जारी रहेको उहाँको भनाइ छ ।

आफ्नो सरकारले ६५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको देउवाको दाबी छ ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उहाँले अर्थतन्त्र र सामाजिक क्रियाकलापमा सकेसम्म काममा असर नपर्ने गरी व्यवस्था मिलाइने जानकारी दिनुभयो।५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्ध खोपको व्यवस्था चाँडै हुने प्रधानमन्त्री देउवाको भनाइ छ ।

अहिलेको सरकारले सरकारी अस्पतालको सेवा र पूर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीमा समेत सुधार गरेको भन्दै उहाँले अक्सिजनको पर्याप्त आपुर्ति, भण्डारण र जनशक्तिको व्यवस्थापनमा समेत सुधार भएको बताउनुभयो ।

मेलम्चीको पानी यही वर्षभित्र काठमाडौं ल्याउने प्रतिवद्धता जनाउनुभएका प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको समेत बताउनुभयो ।

धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको उहाँको भनाइ छ ।आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको प्रधानमन्त्री देउवाको दाबी छ ।