स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौं,फाल्गुन,५-आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ ।दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले जित हासिल गरेको हो।

दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

दीपेन्द्रले अविजित ८५ रन बनाउँदा कुशल ८१ रनमा आउट भए । दुवै खेलाडीको ओडिआईमा दोस्रो अर्धशतक हो भने दीपेन्द्रको लिग टु मा यो पहिलो अर्धशतक हो ।

सुरुको पाँच विकेट सस्तैमा गुमाएको नेपालका लागि सोमपाल कामीले अविजित २४ रन बनाउँदा गुल्सन झा १७ रन बनाएर आउट भए । स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३/३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो । स्कटल्याण्डका लागि माईकल लिस्कले १ सय ७ रनको शतकीय ईनिङ खेले । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिदा कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।

नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।