१२ वर्षमा घर छोडेकी अन्जु अहिले युवाहरुको पेरणाको स्रोत बन्दै

नेपालगन्ज,बैशाख,२८-


२५ वर्षीय अन्जु न्यौपाने पछिल्लो समयमा युवाहरूको लागि प्रेरणाको गतिलो स्रोत बनेकी छन।

वि.सं. २०५१ साल जेष्ठ ३१ गते बुवा देविलाल न्यौपाने र आमा पुष्पा न्यौपानेको कोखबाट बर्दियाको बांसगडीमा पहिलो सन्तानको रुपमा अन्जुको जन्म भएको थियो।
उनले कक्षा ७ सम्म बांसगडिमै पढिन। कक्षा ७ मा पढ्दा पढ्दै उनलाई अचानक मुटु सम्बन्धि रोगको समस्याले ग्रसित बनायो। मध्यम वर्गीय परिवारमा जन्मेकी उनलाई मुटु सम्बन्धी समस्याले सताए पछि उनको परिवारलाई निकै दुखी तुल्यायो।

मुटु सम्बन्धी समस्याले ग्रसित भएपछि उनले आफ्नो पढाई अगाडि बढाउन सकिनन। त्यसपछि उनले आफ्नो मुटुको समस्याको कारणले परिवार दुखी भएको हेर्न सकिनन। १२ वर्षको उमेरमै केही गर्छु र आफै आफुलाई रहेको मुटु सम्बन्धी समस्या निराकरण गर्छु भनेर काठमाडौं हिडिन।

काठमाडौँ पुगेपछि अन्जुले अंकलले आश्रममा बस्ने व्यवस्था मिलाई दिए। बिस्तारै उनी आश्रमकै सहयोगमा विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै गइन। उनको बाल्यकाल विभिन्न जिल्लाका आश्रममै बित्यो। आश्रममा दिनहुँ जसो उनले गर्ने योग अनि मेडिटेसनले गर्दा उनको मुटु सम्बन्धि समस्या बिस्तारै निराकरण हुँदै गयो। अत्याधिक उनले गर्ने योग र मेडिटेसन अभ्यासले अन्ततः उनी उक्त समस्याबाट मुक्त भइन।

समस्याबाट हार नखाई समस्या मुक्त गराउन सफल भएपछि उनले थुप्रै सामाजिक संस्थामा काम गर्दै गईन। युवाहरुलाई मोटिभेसन कुराहरु सिकाउँदै गईन। माइल्स नेपाल,जेसीस,कर्मचारी संघ जस्ता सामाजिक संस्थामा काम गरिसकेपछि उनले आफ्नो पढाईलाई पुन सुरु गर्ने उद्देश्यले अहिले उनले स्टाफ नर्स कोर्ष समेत पूरा गरिसकेकी छिन।

अन्जु अहिले सामाजिक काम गर्ने उद्देश्यले स्थापित संस्था `उडान नेपाल´को संरक्षकको रुपमा रहेकी छन। उडान नेपालले पछिल्लो समयमा थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ। निशुल्क रुपमा महिलालाई प्याड बनाउने तालिम, ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम , विभिन्न करिअर काउन्सिलिङ अनि मोटिभेसन सेमिनार कार्यक्रम अन्जुकै संरक्षणमा उडान नेपालले सम्पन्न गरिसकेको छ।

अन्जु पछिल्लो समयमा युवाहरूलाई बिभिन्न प्रेरणादायी कुराहरु सिकाउने गर्छिन। जसले गर्दा जति ठूलो समस्या आएपनी न आत्तिकन समस्यासँग लड्न सके समस्यालाई जित्न सकिन्छ भन्ने कुरा युवाहरुले सिक्ने अवसर पाएका छन। अन्जु अब छिट्टै आफ्नो जिवनको संघर्ष अनि आफ्नो जिवनको उतारचढाव सम्बन्धी किताब समेत निकाल्ने तयारिमा रहेकी छिन।