अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली नैः ईश्वर पोखरेल

सरकार गठन र पार्टी एकता प्रक्रिया सँगै अघि बढ्छ, भागबन्डा हुँदैन’

काठमाण्डौं,मंसिर,२९-

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अबको प्रधानमन्त्री र एकतापछि पार्टीको अध्यक्ष पनि केपी ओली नै बन्ने दाबी गर्नु भएको छ । उहाँले पार्टी एकता प्रक्रिया र सरकार गठन पनि सँगसँगै अघि बढ्ने बताउनुभयो ।

‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै दुविधा छैन,’ आज रिपोर्टर्स क्लबमा बोल्दै पोखरेलले भने, ‘सरकार गठनको प्रक्रिया अघि बढ्छ। हामी आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसकेपछि यसमा कुनै समस्या पर्छजस्तो मलाई लाग्दैन, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार चलाउनुपर्छ, जनताले अहिले त्यही जनमत हामीलाई दिएका छन्।’

पोखरेलले सरकार गठनको प्रक्रिया र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने पनि बताउनुभयो । एकता ढाँचालाई अन्तिम रुप दिने तयारी भइरहेको पनि उहाँले खुलाउनुभयो । उहाँले संयोजन समितिले यसबारे काम गरिरहेको बताउनुभयो ।

‘वाम गठबन्धनको पक्षमा लगभग दुई तिहाई मत आएको छ। हामीले सरकार गठन र पार्टी एकतालाई सँगसँगैअघि बढाउनेगरी छलफल सुरु गरेका छौं, हामी छलफलबाट निष्कर्षमा पुग्छौँ,’ उनले थपे।

महासचिव पोखरेलले एमाले र माओवादी केन्द्र दुई पार्टीबीच आन्तरिक कार्यविभाजन गर्दा भागबण्डा नहुने पनि दाबी गर्नुभयो ।   ‘भागबण्डा हुँदैन। यो आन्तरिक छलफलबाट टुंगिने कुरा हो,’ उहाँले भन्नुभयो । पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने पनि बताउनुभयो । साभार नेपाल खबरबाट