डा.गोविन्द केसीसँग तत्काल वार्ता थाल्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको अपिल

फाईल तस्विर !!

काठमाडौं,असोज,१८-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न अपिल गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई डा. केसीको जीवन रक्षाका लागि पहल थाल्न अपिल गर्नुभएको हो ।

आइतबार प्रेस विज्ञिप्त जारी गर्दै सभापति देउवाले वार्ताका माध्यमबाट डा. केसीका माग पूरा गरेर जीवनरक्षा गर्न सार्वजनिक रुपमा आग्रह गर्नुभएको हो ।

१९ औं सत्याग्रहमा रहनुभएका डा. केसीको अनशन २१औं दिन पुग्दा पनि सरकारले कुनै वास्ता गरेको छैन ।

स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दासमेत सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीर नहुनु अत्यन्तै दुःखद र गम्भीर भएको कांग्रेसको ठहर छ ।

चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम समेतका केसीका मागहरु केवल एक व्यक्तिका माग मात्रै नभएर प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग भएको देउवाले उल्लेख गर्नुभएको हो ।

सभापतिले देउवाले लेख्नुभएको छ, ‘जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाई गर्नु सरकारको कर्तव्य हो । तर सरकारले सुरुमा डा. केसीप्रति दुर्व्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ ।

डा. गोविन्द केसीसँग तत्काल वार्ता थाल्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको अपिल