हामी बोल्सेभिक, एमाले मेन्सेभिकः प्रचण्ड

एमालेसँग पार्टीका लागि माओवादी अध्यक्षले उदाहरण बनाए रुसी क्रान्तिलाई

 काठमाडौं,असोज,१७-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको पार्टी सचिवालय बैठकमा एमालेसँगको एकता प्रस्तावलाई अनौठो तर्कद्वारा स्थापित गर्ने प्रयत्न गरे ।

उनले रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकबीच पुनः एकताको प्रसंग कोट्याए । उनले माओवादीलाई बोल्सेभिक र एमालेलाई मेन्सेभिकका रुपमा अथ्र्याए ।

रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेभिकको अर्थ अल्पमत हुन्छ । नेपालको अहिलेको सन्दर्भले भने दाहालको तर्कमा मेल खाने देखिँदैन । संसदीय व्यवस्था स्वीकारेर दुवै दल बहुदलीय प्रतिस्पर्धामा एकाकार बनेका छन् ।

दोस्रो संविधानसभा र त्यसबाट बनेको रुपान्तरित संसद होस् या स्थानीय तह निर्वाचनको परिणाम, एमाले र माओवादीबीचको अन्तर फराकिलो छ ।

माओवादीलाई बोल्सेभिकको रुपमा अथ्र्याइरहँदा दाहालले एमाले आफूभन्दा ठूलो दल रहेको भुले ।

रुसी कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनमा अलग्गिएका बोल्सेभिक र मेन्सेभिक धार लेनिनको प्रयासमा चौथो महाधिवेशनमा भने एकैठाउँ आइपुगेका थिए । सम्झौतामा टुंग्याउने कि क्रान्तिको बाटोमा अगाडि बढ्ने भन्ने दुई धार देखिएका थिए, उक्त कम्युनिस्ट पार्टीमा ।

यस कोणबाट विश्लेषण गर्दा दाहालको उदाहरण माओवादीबाट टुक्रिएका मोहन वैद्य, नेत्रबिक्रम चन्दलगायत समूहसँग मेल खान सक्ला, एमालेसँग उनले गरेको तुलना कहीं कतै मेल खाँदैन । साभार अनलाईन खबरबाट