वार्ता गर्ने भए जुम्ला आउ : डा. केसी

काठमाडौं, असार,२७-

१२ दिनदेखि आमरण अनसनमा बसेको डा. गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे जुम्लामा आउन सरकारलाई आग्रह गर्नुभएको छ ।चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनसनरत डा. कसीले सरकारले आफूसँग वार्ता गरिरहनुको कुनै औचित्यसमेत नरहेको बताउनुभयो ।

उहाँले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले ती माग सम्बोधन गरे पुग्ने स्पष्ट पार्नुभयो ।माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागू गरे पुग्ने उहाँको भनाइ थियो ।

लामो समयदेखि अनसनमा बसेको डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गएको छ ।

केसीलाई मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने र पिसाव नहुने जस्ता समस्या देखा परेको छ ।

स्वास्थ्य जटिल बन्दै गए पनि उनले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् । उहाँले अक्सिजन र स्लाइनबाहेक अरु औषधि लिन मानेका छैनन् । साभार ईमेज खबरबाट