‘साग’को टिकट ‘इसेवा’बाट लिन सकिने

सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण

काठमाडौं,मंसिर,१२-

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ ।सोअनुसार दर्शकले इसेवाबाट टिकट पाउनेछन् ।

सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो ।इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताउनुभयो ।

टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले पाउने र त्यसबाट ७ प्रतिशत रकम सेवा विशेषका लागि कुनै संस्थालाई राहत उपलब्ध गराउने जनाइएको छ ।

फुटबलको टिकट शुल्क

दशरथ रंगशालामा हुने फुटबलका लागि ‘राउन्ड रोबिन’का खेलको प्रतिटिकटको दर साधारण पारापिटतर्फ ५०० र भीआइपीतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

फुटबल फाइनलमा भने साधारणतर्फ एक हजार र भीआइपीतर्फ दुई हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिने जनाइएको छ ।

भलिबल र बास्केटबलको टिकट शुल्क 

भलिबल र बास्केटबलका लागि ५०० रुपैयाँको टिकट निर्धारण गरिएको छ ।

क्रिकेटको टिकट शुल्क

क्रिकेटमा नेपालको खेल भएको दिन ५०० र अरु खेलमा २०० रुपैयाँ प्रतिटिकट शुल्क तोकिएको छ ।

शुक्रबार साँझ ‘ग्रान्ड रिहर्सल’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रंगशालामा १५ हजार ९०० सिट भएपनि १४ हजारमात्र टिकट बिक्री गरिने बताउनुभयो  ।

उहाँले आयोजनाको सबै तयारी पूरा भएको र शुक्रबार साँझ उद्घाटनका लागि ‘ग्रान्ड रिहर्सल’ गर्ने कार्यक्रम रहेको बताउनुभयो।सिलवालले पौडी पोखरी निर्माणको काम शुक्रबार बिहानसम्म सकिने र बिहान पानी राखेर शनिबार बिहानसम्म नेपाली खेलाडीहरुले अभ्यास गर्नसक्ने बताउनुभयो ।ईमेजबाट