भयरहित बिद्यालय बनाउन शिक्षकलाई प्रशिक्षित गरिँदै

नेपालगञ्ज,बैशाख,११-
भर्ना अभियानसंगै बीचमा बिद्यालय छाड्ने संख्यालाई कम गर्न भयरहित बिद्यालय बनाउन शिक्षकहरुलाई प्रशिक्षित गराइँदैछ । बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकाकामा रहेका बिद्यालयहरु भयरहित बिद्यालय बनाउनु शिक्षकहरुलाई प्रशिक्षित गराउन थालिएको हो ।

बिद्यालयमा सकारात्मक अनुशासन पद्दतिको बिकास गर्नका लागि संचालित लैंङ्गिक संवेदनशील बाल संरक्षण प्रणालीको बृहत बिकास परियोजना अन्तर्गत एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई प्रशिक्षित गराउन थालिएको हो ।

दुइ वटै गाउँपालिकामा प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपालको आयोजनामा बिद्यालयमा बालबालिकाहरुलाई टिकाइ राख्ने परियोजना संचालन गरिएको छ ।तीन दिने तालिममा प्रशिक्षण गरिने बिषयबस्तु लागु भएमा बिद्यालयको शिक्षण सिकाईमा सहयोग पुग्ने खजुरा गाउँपालिकालका श्रोत व्यक्ति टंक दाहालले बताउनुभयो ।

प्रशिक्षक समेत रहनुभएका उहाँले साथै बीचमै बिद्यालय छाड्ने बिद्यार्थीहरुको संख्यामा कमी आउने र बिद्यालयमा आउने समस्या, बाधाहरु हट्दै जाने बताउनुभयो ।

तालिममा बाल अधिकार, बालमैत्री वातावरण, सकारात्मक अनुशासन तथा पुर्व बाल बिकास, भेदभाव न्युनिकरण, सामाजिक बिकासमा योगदान पुर्याउने पक्ष, असल व्यवहार निर्माण बिषयमा प्रशिक्षण गरिने छ ।

कार्यक्रमलाई जानकी गाउँपालिकाका श्रोत्र व्यक्ति मुनिर अहमद खाँले समेत सहजीकरण गर्नुहुने स्याक नेपालकी टिमलिडर नेत्रकला शाही जानकारी दिनुभयो ।