प्रतियोगितालाई सफल बनाउन माइकिङमा सहयोग गर्छौँ : कवड्डी संघ

बाँके,चैत्र,२०-
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारमा नेपाल कवड्डी संघले सहयोग गर्ने बताएको छ ।

प्रतियोगितामा जनसभागिता गराउन संघले जिल्लाभर प्रचार प्रसार गर्ने भएको हो ।
प्रतियोगिता हुनुभन्दा दुई दिन अघि संघले बाँके जिल्लाको विभिन्न स्थानमा आठौँ राष्ट्रिय प्रतियोगिताको जानकारी सहितको माइकिङ गर्ने संघका अध्यक्ष डम्बर थापाले जानकारी दिए ।

उनले कोहलपुर, बनकटवा, कुसुम, कम्दी, खजुरा, बेतहनी, फत्तेपुर, राँझा लगायत स्थानमा माइकिङमार्फत प्रचार प्रसार गरिने बताए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीसँग भएको छलफलमा संघले आठौँको प्रचार प्रसारका लागि माइकिङ गर्ने सहमति भएको संघका अध्यक्ष थापाले बताए ।

‘प्रतियोगितालाई सफल बनाउने दायित्व सरकारको मात्र हाम्रो पनि हो, प्रतियोगितालाई सफल बनाउन हाम्रो पनि सहयोग हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।
छलफलमा क्षेत्रीय अध्यक्ष ओलीले प्रतियोगितालाई सफल बनाउन गाउँ–गाउँबाट, बस्ती–बस्तीबाट उठ्नु पर्ने बताए । ‘यो हामी सवैको साझा कार्यक्रम हो, यसमा सिंगो बाँकेबासीको इज्जत जोडिएको छ,’ उनले भने।