थपिएका २० जनाको नामसहित जसपा ठाकुर पक्षले पठायो निर्वाचन आयोगलाई पत्र

फाईल तस्विर !!

काठमाडौं,असार,१४-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले एक पक्षीय रुपमा २० जना कार्यकारिणी समिति सदस्य थप गरेर निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै पत्र पठाएका छन्।

५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले बहुमत पुर्‍याउन २० जनाको नाम थप गरेर आइतबार आयोगमा पत्र पठाएका हुन्।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ठाकुरले गत पुस ७ गते आफूलाई पहिलो वरियताको अध्यक्ष बनाइएको भन्दै आफ्नो अधिकार प्रयोग गरेको जिकिर गरेका छन्।

ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको दाबी नपुग्ने जिकिर ठाकुरको छ।‘अर्का पक्ष (उपेन्द्र) ले गरेको दाबी पुग्दैन, जसपाको पहिलो वरियताको अध्यक्ष मै हुँ,’ ठाकुरले पेश गरेको पत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अर्को पक्षले पेश गरेका कुनैपनि कुरामा हामी सहमत छैनौं, उनीहरुले माग गरे अनुसार बहुमत पुग्दैन।’

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै विभाजनको अवस्थामा पुगेपछि जसपा नाम लिन ठाकुरले आयोगमा बहुमत सदस्यको नाम पठाएका हुन्।

उहाँ निकट नेता केशव झाका अनुसार आइतबार निर्वाचन आयोगमा सबै डकुमेन्ट पठाइएको छ।यस अघि आधिकारिकता माग गर्दै उपेन्द्र यादव भौतिकरुपमा वहुमत ३० कार्यकारिणी सदस्यसहित निर्वाचन आयोग पुगेका थिए।

यादव पक्षको दाबीपछि आयोगले ठाकुर पक्षलाई त्यसको जवाफ दिन पत्राचार गरेको थियो।‘हामीले आयोगबाट माग भइ आएको विवरण भरेर पठाएका छौँ,’झाले भन्नुभयो,‘पुस ७ गतेको निर्णय पनि पठाइएको छ।’

बहुमत सदस्य आफूसँग रहेको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवले जसपा नाम आफूले पाउनुपर्ने माग गर्दै आयोगमा यसअघि नै विवरण बुझाइसकेका छन्।

“यी हुन् ठाकुरले थपेका २० जना”
ठाकुरले आफू पहिलो अध्यक्ष भएको दाबी गर्दै २० जना कार्यकारिणी सदस्य थप गरेका छन्। उहाँले थप गरेका कार्यकारिणी सदस्यमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शरदजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा. विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा छन्।

एक नेताका अनुसार ठाकुरले राजेन्द्र महतो पक्षका उपेन्द्र महतो, सन्तोष मेहता र अरविन्द साहलाई कार्यकारिणी सदस्य बनाएका छन्।यसैगरी अनिलकुमार झाका तर्फबाट राजीव झा सदस्य बनाइएका छन्।बाँकी ठाकुर पक्षकै नेता थपिएका छन्।

थपिएका मध्ये अधिकांस पूर्व तमलोपाका विभिन्न कमिटीमा रहेका नेताहरु छन्।त्यसमा शरदसिंह भण्डारी, राजकिशोर यादव पक्षका कसैलाई पनि कार्यकारिणी सदस्य बनाइएको छैन।यस अघि उपेन्द्र यादव पक्षमा रहेका उमाशंकर अरगरियालाई ठाकुरले कार्यकारिणी सदस्य बनाएका छन्।