कांग्रेस नीति प्रतिष्ठानको पूर्ण बैठक : लिपुलेक सडक गम्भीर र आपत्तिजनक

काठमाडौं,जेठ,८-नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्ण बैठकले भारतले एकपक्षीय रुपमा निर्माण गरेको लिपुलेक सडक नेपाल र नेपालीका लागि गम्भीर र आपत्तिजनक भएको बताएको छ। 

नेपाली काॅंग्रेस पार्टी कार्यालय
सानेपा

बिहीबार अनलाइन जुमका माध्यमबाट भएको पूर्ण बैठकले भारतको कदमप्रति आपत्ति जनाएको हो। ‘वर्तमानमा भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको भनिएको र अत्यन्त चर्चामा रहेको लिपुलेक सडकको विषय नेपाल र नेपालीका लागि गम्भीर र आपत्तिजनक छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘केही वर्ष पहिले भारत र चीनले लिपुलेकबाट व्यवसायिक मार्ग खोल्ने सहमति गरेका समय नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशसंग आपत्ति प्रकट गर्नुभए पनि त्यसपछि  आएको केपी ओली नेतृत्वकै सरकार मौन बस्दा आजको परिणाम आएको हो।’ 

सँगै कांग्रेसले भारतले गत कात्तिकमा नेपाली भूमि समावेश गरेर नक्सा सार्वजनिक गर्दा सरकारलाई कुराकानी गर्न आग्रह गरेकोसमेत सम्झना गरेको छ। 

‘करिब आठ महिनापछि मात्र लिपुलेक, कालापानी, लिम्पियाधुरासमेत समेटिएको नक्सा सरकारले जारी गरेको छ। यसलाई कुनै पनि नेपालीले अन्यथा मान्न सक्दैन’, कांग्रेसले भनेको छ, ‘तर नक्सा जारी गर्नासाथ महान् क्रान्तिकारी, राष्ट्रवादी काम गरिएको भ्रम छर्ने र उत्तेजना फैलाउने प्रयास भइरहेको छ। लिपुलेक हुँदै व्यवसायिक मार्ग खोल्ने भारत र चीनबीचको सहमति नेपालका लागि आपत्तिजनक छ भन्ने प्रतिष्ठानको निष्कर्ष छ।’  

मंगलबार र बुधबार प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा दार्चुलादेखि झापासम्मका सदस्य सहभागी थिए । 

बैठकमा विषय प्रस्तुति प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले गरेका थिए । बैठकमा कोरोना महामारीका समयमा नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनु पर्ने र  जहाँ बसेका भएपनि स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल फर्कन सरकारले नै सहयोग गर्नु पर्ने विचार निधिले व्यक्त गरेका थिए । अन्नपुर्ण