एसडी मुनीलाई गगन थापाको जवाफ : ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै भूमि हो’

काठमाडौं,जेठ,८-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिनुभएको छ।

भारतमा नेपाल मामिलाका जानकार मानिने मुनीले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्शा एकपक्षीय रुपमा जारी गरेको टिप्पणी गरेपछि थापाले मुनीलाई जवाफ दिनुभएको थियो।

मुनीको ट्वीटमा जवाफ फर्काउँदै पूर्वमन्त्रीसमेत रहेका सांसद थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा नेपाली कांग्रेसको दृढतापूर्वक साथ रहेको प्रष्ट पार्नुभएको थियो ।

मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा र चीनको भाइरस नरम भनेर गरेको टिप्पणीमा भने थापाले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई अवैज्ञानिक भन्दै आफूहरु पनि यस कुरामा असहमत रहेको बताउनु भएको थियो ।

मुनीले भने आफ्नो ट्वीटमा प्रधानमन्त्री ओलीले संसदमा भारतीय प्रतीक चिह्न र कोरोना भाइरसका बारेमा गरेको वक्तव्यको आलोचना गर्दै चिनियाँ उक्साहटमा नयाँ नक्शा निकालेको र यो मान्य नहुने टिप्पणी गर्नुभएको थियो ।