लकडाउनको समयमा पनी शिक्षकलाई सिकाइकै चिन्ता देखिनु सकरात्मक : निधि

ओखलढुंगा,जेठ,९-नेपाली कांग्रेसका उपसभापति एवं पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले लकडाउनको समयमा पनि शिक्षकमा शिक्षण सिकाइकै चिन्ता देखिनु सकारात्मक भएको बताउनु भएको छ।सरकारले अनलाइन शिक्षाको कुरामात्रै गरेको अवस्थामा शिक्षकहरु आफैले सूचनाप्रविधिमैत्री बन्न अनलाइन तालिम सञ्चालन गर्नु प्रशंसनीय काम भएको उहाले बताउनु भएको थियो ।

नेपाल शिक्षक संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाको व्यक्तिगत पहलमा बिहिवार देखि शुरु भएको ४ दिने शिक्षक प्रविधि सिप अभिवृद्धि अनलाइन तालिम कार्यक्रमको उद्घाटन गर्दै निधिले शिक्षकहरु आफै आफ्नो क्षमता अभिवृद्धि गर्न क्रियाशिल रहनुले सार्वजनिक शिक्षामा सुधारको संकेत गरेको बताउनुभयो ।
बाहिरबाट हेर्दा शिक्षकहरु घरमा छुट्टी मनाएर बसेका देखिएपनि भित्रिरुपमा उनीहरु नयाँ सिर्जना र क्षमता विकासमा जुटेको देख्दा आफूलाई हर्षित बनाएको उनको भनाइ थियो ।

पूर्व शिक्षामन्त्रीसमेत रहेका निधिले शैक्षिक संस्थाहरुलाई लामोसमय पूर्णतः बन्द गरेर राख्न नहुने भन्दै सिकाइ निरन्तरताका लागि सरकारले विकल्पहरु खोज्नुपर्ने धारणा राखे।‘सरकारले अनलाइन शिक्षाको कुरा मात्रै गरेको छ त्यसका लागि शिक्षकलाई प्रविधिमैत्री बनाउन कुनै कदम चालेको छैन’– निधिले भने, ‘यस्तो अवस्थामा शिक्षकहरु आफैले प्रविधिमैत्री बन्न तालिम सञ्चालन गरेर आफूहरु शिक्षण सिकाइको सुधार र निरन्तरता प्रति चिन्तित रहेको देखाएका छन् ।’

शिक्षकमा आफै आफ्नो क्षमता र योग्यता सुधार्न पहल हुनुले सार्वजनिक शिक्षामा सुधारको संकेत मिलेको उनले स्पष्ट पारे । शिक्षकहरु क्षमतावान र गुणस्तरीय बनेपछि नै सार्वजनिक शिक्षापनि गुणस्तरीय बन्ने उनको भनाइ थियो । शिक्षकहरुको क्षमता सुधार्न पहल लिएकामा संघका निर्वतमान उपाध्यक्ष बानियालाई उहाॅंले धन्यवाद समेत दिनु भएको थियो ।

तालिममा सहभागी हुन थालेका शिक्षकहरुलाईसमेत निधिले अर्थपूर्ण समय छुट्याएर यसलाई उपलब्धिपूर्ण बनाउन सुझाब दिए । सबैठाउँमा अनलाइन शिक्षा सम्भव नभएपनि जहाँ जसरी सिकाइ गर्न सकिन्छ ती माध्यमको प्रयोग गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिन उनले शिक्षकहरुसँग आग्रह गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ, संघ तथा सार्क शिक्षक महासंघका निर्वतमान अध्यक्ष केशव निरौलाले शिक्षकहरुले वर्तमान प्रतिकुलतालाई चिर्दै नयाँ सिकाइ र सिर्जनाको प्रयास गर्नु अनुकरणीय काम भएको बताउनुभयो । यसले शिक्षक वर्गको अधिकार र कर्तव्यको अभियानलाई थप बल पुगेको उनको भनाइ थियो ।

शिक्षकमा आफू सक्षम बन्ने, क्षमतावान बन्ने, प्रविधिमैत्री बन्ने हुटहुटी चल्नुले सार्वजनिक शिक्षा सुधारको संकेत गरेको उनको भनाइ थियो । यसले शिक्षकहरु हरेक परिस्थिति र अवस्थामा पनि कर्तव्य पुरा गर्न हर्दम तत्पर रहेको संकेत गरेको निरौलाले बताउनुभयो ।

नेपाल शिक्षक संघका निर्वतमान उपाध्यक्ष गोकर्ण बानियाले खाली समयमा शिक्षकलाई व्यस्त बनाउन साथै, यसको सकारात्मक सदुपयोग गर्न भनेर तालिमको आयोजना गरेको बताउनुभयो । अन्य शिक्षकका संघसंगठनहरुले सदस्य शिक्षकहरुको सूचनाप्रविधिमा क्षमता बढाउन तालिम सञ्चालन गरिरहेको भएपनि संघको संघीय समितिले उदाशिनता देखाएकाले आफ्नै व्यक्ति गत पहलमा ४ दिने आइसिटि तालिम आयोजना गरेको बानियाले स्पष्ट पार्नुभयो।

तालिममा देशभरका ४ सय शिक्षकहरु सहभागी भएको उनले जानकारी दिए । तालिममा शिक्षकलाई प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ गर्न, शैक्षिक सामग्री खोज्न, प्रयोग गर्न, प्रविधिको प्रयोग मार्फत् सिकाइलाई निरन्तरता दिने क्षमता विकास हुने उनले विश्वास व्यक्त गर्नुभयो ।

बानियाका अनुसार ४ दिने तालिलममा पहिलो दिन पावरप्वाइन्ट। पीडीएफ, प्रिती–युनिकोड टाइपिङ सिप सिकाइने तथा दोस्रो दिन फाइल एक्टेन्सन, फोटोसप र गुगलका विभिन्न फिचर चलाउने सिप सिकाइने छ ।यस्तै, तालिमको तेस्रो दिन ब्राउजर, सर्च इन्जिन, ब्लगस्पट, सिकाइ साम्रगी निर्माण गरी युट्युवमा अपलोड गर्न र सिकाइ सामग्री खोजेर डाउनलोड गर्न साथै चौंथो दिन विभिन्न अनलाइन शिक्षण प्लेटफर्महरुको प्रयोग, मोवाइल वा ल्यापटपबाट सिकाइ, नतिजा, गृहकार्य, छलफल विधिलगायतको सिप सिकाइने बानियाले जानकारी दिनुभएको थियो ।

४ दिनसम्म चल्ने शिक्षक प्रविधि सिप अभिवृद्धि अनलाइन तालिममा तालिम संयोजकको भुमिकामा रमेशबाबु भट्टराई रहेका छन् भने विकल श्रेष्ठले तालिम प्रशिक्षण गर्ने छन् । तालीम जेठ ८ गते देखि ११ गतेसम्म दैनिक १ देखि ३ बजेसम्म सञ्चालन हुने छ ।