भुटानमाथी नेपालको शानदार जीत : फाइनल पुग्ने सम्भाबना बलीयो

काठमाण्डौं,भाद्र,१२-

भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले फाइनलमा पुग्ने सम्भावना बलीयो बनाएको छ। आज (बिहिबार) भएको अन्तिम खेलमा भुटानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालको फाइनलमा पुग्ने सम्भाना बलीयो बनाएको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्साल एक्लैले दुई गोल गरेपछि साफ यु–१५ च्याम्पियनसिपतर्फ लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि ६–० को शानदार जित हात पारेको छ । यो जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

पश्चिम बंगालस्थित कल्याणी स्टेडियममा भएको खेलको पाँचौं मिनटमै प्रदिप लम्सालले पहिलो गोल गरे । लगतै नवौं मिनटमा निराजन खत्रीले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।

दोस्रो हाफ शुरु भए लगतै ४८औं मिनटमा कप्तान लम्सालले नै व्यक्तिगत दोस्रो तथा नेपाली टोलीका लागि तेस्रो गोल गरे । खेलमा एकपक्षिय जित हात पारेको नेपालका लागि ७५औं मिनटमा असिम राईले चौथो गोल गरे भने ८५औं मिनटमा कृष सापकोटाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा सुगम जिम्मीले गोल गर्दै नेपाललाई ६-० जित दिलाए । जितसँगै नेपालले ४ खेलबाट ९ अंक जोडेको छ । भुटान जित विहिन बन्दै घर फर्किएको छ । यस्तै भारतको ९ अंक रहेको छ,भने  बंगलादेशको ६ अंक रहेको छ । 

नेपालले अब फाइनल प्रवेशका लागि आज नै अपरान्ह ३:१५ बजेदेखि शुरु हुने आयोजक भारत र बंगलादेशबीचको खेलको नतिजा पर्खनु पर्नेछ । सो खेलमा भारतले बंगलादेशलाई हराए नेपाल स्वतः फाइनलमा प्रवेश गर्नेछ ।