पार्टीको एकतालाई थप सुदृढ बनाईनु पर्नेमा नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्डको जोड

काठमाडौं,बैशाख,१०-प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनु भएको छ ।नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

फाईल : तस्विर

उहाॅंले बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएको तथा आरोह–अवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरहेको बताउनुभयो ।कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन सञ्चालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको प्रधानमन्त्री ओलीको भनाई  रहेको छ । 

यस्तै : (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपालाई कमजोर बनाउने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागिपरेको बताउनु भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले नेकपालाई कमजोर पार्ने निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

उहाॅंले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरेर जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको स्पष्ट पार्नुभयो ।पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका नेता–कार्यकर्तालाई अध्यक्ष दाहालको अपील छ ।

नेकपा स्थापनाको ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ-आफ्नो ठाउँमा सकारात्मक पहलका लागि अध्यक्ष दाहालले सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई अपील गर्नुभयो ।