पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं,असार,१२-नेपालमा थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये ४ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो । यो कुल परीक्षणको २० दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । 

यसैगरी शनिवार ४ हजार ९१४ जना निको भएसँगै हालसम्म ५ लाख ८१ हजार ३२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौं उपत्यकामा २४९ जनामा संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लाका १८१, ललितपुर जिल्लाका ४३ जना र भक्तपुर जिल्लाका २५ जनालाई कोरोना संक्रमण भएको हो ।