मोदीको शपथ ग्रहण आज : प्रधानमन्त्री ओली भारत जाँदै

नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी भारत प्रस्थान

काठमाण्डौं,जेष्ठ,१६-

नेपालका प्रधानमन्त्री केपि शर्मा ओली र भारतका नवनिर्वाचीत प्रधानमन्त्री नरेन्द्र मोदी !!

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण आज हुने भएको छ । उक्त शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँ दिल्ली प्रस्थान गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री ओली  आज दिउँसो १:३५ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जान लाग्नु भएको हो। ओली डिप्लोमेटिक इन्कलेभस्थित होटलताज प्यालेसमा बस्नुहुनेछ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार यस अवसरमा दुई देशका प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता समेत हुनेछ।शपथ ग्रहणको भोलिपल्ट अर्थात् शुक्रबार हैदरावाद हाउसमा मोदी र ओलीबीच भेट हुने भएको हो। स्रोतका अनुसार उक्त भेटवार्ता बिहानको नास्ता खाने गरी करिब आधा घण्टाको हुनेछ। उक्त भेटमा द्वीपक्षीय वार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा भारतीय प्रधानमन्त्रीलाई औपचारिक बधाई दिने र दुई मुलुकबीचको सम्बन्ध र दुई पक्षीय विषयमा सामान्य छलफल हुने बताइएकाे छ।भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिने सम्भावना रहेकाे परराष्ट्र स्राेतले जनाएकाे छ। प्रधानमन्त्री ओली शुक्रबार ३:४० बजेको निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।  

पछिल्लोपटक प्रधानमन्त्री बनेपछि ओलीको यो दोस्रो भारत भ्रमण हो। दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओलीले २०७४ चैत अन्तिम साता भारतको औपचारिक भ्रमण जानु भएको थियो । मोदीले भने अघिल्लो कार्यकालमा चारपटक नेपालको भ्रमण गर्नु भएको थियो ।मोदीको शपथ ग्रहणमा ओलीको सहभागिताले दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सघाउने दुवै मुलुकका सरकारी उच्च अधिकारीहरूले विश्वास गरेका छन्।

प्रधानमन्त्री ओलीले आज ( बिहीबार) साँझ राष्ट्रपति भवनमा हुने मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुनेछ ।मोदीले बेलुकी ७ बजे सपथग्रहण गर्ने कार्यक्रम छ। मोदी मन्त्रीमण्डलका मन्त्रीले पनि आजै सपथ लिनेछन्।उक्त सपथ ग्रहण कार्यक्रम पछि प्रधानम्न्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग संक्षिप्त भेट गर्नु हुनेछ। भारतले यसपटक मोदीको शपथग्रहणमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरूलाई निम्तो दिएको छ।

मोदीको सपथ समारोहमा नेपालका प्रधानमन्त्रीबाहेक श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, म्यान्मारका राष्ट्रपति विन मिन्ट सहभागी हुने निश्चित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको जापान भ्रमणमा रहेकाले राष्ट्रपति हामिदले सहभागिता जनाउन लागेका हुन्।

संघाई कोअपरेसनका वर्तमान अध्यक्ष किर्गिजस्तानका राष्ट्रपति सुरोनबे जिनबेकोव र मोरिससका प्रधानमन्त्री प्राविण जुगनौत पनि सपथमा समारोहमा सहभागी हुँदैछन्।मध्य एसिययाली देशहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको भारतले किर्गिजस्तान सहयोगी हुनसक्ने ठान्दै आएको छ। मध्य एसियाली देशहरूमा चीनको प्रभाव बलियो छ। भारतले त्यसलाई टक्कर दिने चाहाना राखेको देखिन्छ।

प्रवासी भारतीयहरुको प्रभाव रहेको हिन्द महासागरको टापु देश मोरिससमा आफ्नो प्रभावलाई अझै मजबुत पार्न प्रयास भइरहेको छ। मोदीको सपथमा मोरिससको आमन्त्रणलाई हिन्द महासागर क्षेत्रमा भारतीय सामारिक चासोको रुपमा हेरिएको छ।

यसैबिच :भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि भारत जानुभएको छ । भारतको राष्ट्रपति कार्यालयबाट मोदीको सपथ ग्रहणमा सहभागिताका लागि निम्तो आएपछि चौधरी  बिहीबार भारत जानुभएको हो ।

नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र भारतका नवनिर्वाचीत प्रधानमन्त्री नरेन्द्र मोदी

सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चौधरी सहभागी हुनुभएको थियो । मोदी गुजरातको मुख्यमन्त्री हुँदादेखि नै मोदी र चौधरीबीच सुमधुर सम्बन्ध रहेको चौधरी ग्रुपले जनाएको छ।