एमाले सांसद दुलारी देवीको निधन

काठमाण्डौं, चैत ११-
नेकपा एमाले की समानुपातिक तर्फकी सांसद दुलारी देवीको बिहीबार राति निधन भएको छ। भारतको बिहार, सितामढीमा  मोटरसाइकल दुर्घटनामा परी घाइते भई उपचाररत उनको गएराति पौने ९ बजे निधन भएको हो। उहाँको ललितपुर, ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको थियो।

यही चैत ३ गते भारतको सीतामढीमा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो।एमाले सचिव योगेश भट्टराईले दुलारी देवीको पार्थिव शरीर आज बिहान ८ बजेदेखि १० बजेसम्म पार्टी मुख्यालय, धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने जानकारी दिनुभयो।

मृतक दुलारी देवी ४६ वर्षको हुनुहुन्थ्यो। उहाँ २०२७ सालमा सर्लाही जिल्लाको ब्रम्हपुरीमा जन्मिनु भएको थियो। उहाँका श्रीमान्, दुई छोरा र दुई छोरी छन्।उनको राजनीतिक यात्रा औपचारिक रुपमा ०५२ सालदेखि सुरु भएको बताइएको छ। एमालेका विभिन्न जनवर्गीय संगठनमा रहेर राजनीति गर्दै आएकी उहाँ पछिल्लो संविधानसभा चुनावमा समानुपातिक तर्फबाट सभासद चुनिनु भएको थियो ।