राष्ट्रपतिद्धारा सांसदलाई ‘संविधानसभा पदक’ प्रदान

विप्लव’ नेतृत्वको नेकपाका तीन नेता सहित भ्रष्टाचारको मुद्दा लागेकालाई पनि पदक

काठमाण्डौं,जेष्ठ,१६-

सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो ।

पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । बिहान एक चरणको पदक वितरणको कार्यक्रम सकिएको र दिउँसो दोस्रो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पुर्याएबापत सभासद्लाई सम्मान गरिएको हो । पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिला नम्बरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालसमेत शीतल निवास पुग्नुभएको थियो । हाल प्रतिबन्धित ’विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् ।विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा छन् ।

पदक वितरण कार्यक्रम आज (बिहीबार) बिहान सुरु भएर अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।पदक पाउनेको सुचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने पनि रहेका छन् ।राष्ट्रपति भण्डारीले पदक प्रदान गर्ने कार्यक्रमको समाचार संकलनमा भने निजी संचार माध्यमलाई रोक लगाइएको छ ।राष्ट्रपति भवनमा प्रवेश गरिसकेका संचारकर्मीलाई पनि अनुमति नभएको भन्दै सुरक्षाकर्मीले बाहिर निकालेका लिए ।