विद्यार्थी परिषद् आन्दोलनमा

काठमाण्डौं,जेठ,२७-
असाधारण मूल्य बृद्धिको विषयलाई लिएर प्राज्ञिक विद्यार्थी परिषद, नेपालले रचनात्मक आन्दोलन गरेको छ । सरकारले कर सहित पेट्रोलिय पदार्थमा गरेको असाधारण मूल्य बृद्धिको कारणले बजारमा दैनिक उपभोग्य बस्तुहरूमा मूल्य बृद्धि भएको छ, नेपाल आयल निगमको मूल्य स्तरीकरण कोष परिचालन लगायत बजारमा सरकारको न्यून अनुगमन भएका कारणले विद्यार्थी परिषद् नेपालले अन्दोलनात्मक कार्यक्रम गरेको छ ।

काठमाडौँको रत्नपार्कमा कोण सभा गरि समापन भएको आन्दोलनमा नाराहरू लगाई मोटर साइकललाई सांङकेतिक लास बनाई “गरिबमारा समृद्धि चाहिदैन–जनताको ढाड सेक्न पाईदैन, रूखमा पैसा फल्दैन–महँगिले देश चल्दैन , नयाँ करयोग्य बस्तु उत्पादनको आड लेउ किसानी गर्ने गरिवको मासु र हाड नलेउ”, जस्ता नारा बाजी गरेका थिए ।

दलगत राजनीति भन्दा माथि रहि राष्ट्रिय राजनीति गर्ने संगठनको नेपालमै नौलो आन्दोलन थियो । उक्त आन्दोलनको कोण सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ का प्रदेश सचिव कृष्णप्रसाद हुमागाई, परिषद्का राष्ट्रिय सचिव छितराज न्यौपाने लगायत आन्दोलन समितिका संयोजक सुरेन्द्र प्रसाद जोशीले सरकार ढाल्नु हाम्रो उद्देश्य नरहेको तर अधिकारीहरूले जनताको जिविका सहज रूपमा चल्ने वातावरण तत्काल सृजना गर्नुपर्ने वताएका थिए ।

आर्थिक बर्ष ०७५÷०७६ को बजेट मार्फत चालु खर्चलाई सरकारले बढी जोडदिनु भन्दा पुँजी गत खर्च बढाउनु पर्ने, करको दर बढाउनुको सट्टा सरकारले देश भित्रका श्रोत साधन पहिचान गरि करको दायरा बढाउनु पर्ने विद्यार्थी परिषद्को माग रहेको छ । उक्त आन्दोलनमा परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, मिडिया प्रमुख मोहन श्रेष्ठ लगायत परिषद्का अन्य कार्यकर्ताहरूको महत्वपूर्ण उपस्थीति रहेको थियो ।