अग्नी नियन्त्रण तथा उद्धार तालिम समापन

नेपालगञ्ज,जेठ,२७-

आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम आज सकिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उपमहानगरपालिका स्तरिय स्वयं सेवकहरुका लागि सञ्चालित १० दिने तालिम आज एक समारोहबीच समापन गरिएको छ ।

प्रत्येक वडाबाट समेत गरेर ५० जनाको सहभागिता रहेको तालिम समापन समारोहमा बोल्दै उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले अग्नी नियन्त्रण तथा उद्धार तालिमले हरेक खाले विपदबाट जोगीने र जोगाउने बातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो ।

नगर प्रमुख डा राणाले चुनौतीसँगै अवसर पनि रहेको भन्दै सहभागीलाई व्यवसायिक क्षेत्रमा क्रियाशिल हुन आहवान गर्नु भयो । उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै प्राविधिक ज्ञानले विपद व्यवस्थापनमा सघाउ पुग्ने भन्दै वडास्तरमा समेत लैजानुपर्ने आवश्यक्ता महसुस भएको बताउनु भयो ।

तालिम प्रशिक्षक नरेश राज कुवरले स्वयंसेवकका लागि गरिएको लगानीले विपद व्यवस्थापनमा उपमहानगरपालिका सम्वेदनशिल र जिम्मेवार छ भन्ने प्रमाणित गरेको बताउनु भयो ।

तालिममा दमकल परिचालन, चुनौती, अग्नी नियन्त्रण, मानव उद्धार, व्यक्ति सुरक्षा, सामाग्रीको सही प्रयोग लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । नगरपालिका क्षेत्रीय अध्यन केन्द्रका फोकल पर्सन राजन केसीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहभागीको तर्फबाट निराजन वजगाईले तालिमको अनुभव सुनाउनु भएको थियो ।