मछिन्द्र र फ्रेन्ड्स क्लब विजयी,संकटा र चर्च ब्वाइजको खेल बराबरी

काठमाडौं,फाल्गुन,३०-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा साविक विजेता मछिन्द्र एफसीले पहिलो जित निकालेको छ ।

मंगलवार भएको खेलमा मछिन्द्रका विदेशी खेलाडी ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबमाथि २-१ को पुनरागमन जित निकालेको हो।ओलावालेले २० औं र ४० औं मिनेटमा गोल गरे ।

त्यसअघि अन्जन राईले नवौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर पुलिसले अग्रता जोगाउन सकेन । पहिलो जितपछि मछिन्द्रले चार खेलबाट ४ अंक जोडेको छ । पुलिसको भने यो लगातार चौथो हार हो ।

त्यसैगरी:“ए”डिभिजन लिगको अर्को खेलमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २-१ ले हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि राफिक अमिनुले खेलको १९ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् ।

खेलको ४० औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाएका थिए।२-० ले पछि परेको खेलको ८७ औं मिनेटमा जावलाखेलका फोडे फोफनाले पेनाल्टी मार्फत गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याएका थिए ।

पहिलो गोल फर्काएपछि आक्रमक बने पनि जाउलाखेलले अर्को गोल थप्न सकेन र जारी लिगमा पहिलो पराजय भोग्यो ।यसअघिका २ खेलमा हार र १ खेल बराबरी गरेको फ्रेन्ड्सको यो पहिलो जित हो ।

यस्तै:एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा संकटा र चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाढेका छन्। खेलको दोस्रो हाफको इन्जुरी समयमा संकटाले पेनाल्टी पाएको थियो ।

गोलरहित बराबरीमा चलिरहेको खेलमा पाएको पेनाल्टीमा मनिष डाँगी गोल गर्नबाट चुकेका थिए।मनिषको प्रहार रोक्दै चर्च ब्वाइजका गोलरक्षक प्रिसोले टिमका लागि १ अंक जोगाए ।

अहिलेसम्म पराजित रहेको चर्च ब्वाइजले लिगमा यसअघि नेपाल पुलिस क्लब, हिमालयन शेर्पा र एफसी खुमलटारलाई हराएको थियो ।