माओवादीले मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं,फाल्गुन,३०-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनु भएको छ ।

माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मानव अधिकारको रक्षाका लागि लडन पार्टी निकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिनुभयो । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताउनुभयो । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले बुद्ध जन्मेको देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताउनुभयो ।

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्विकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरुले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।ईमेजखबरबाट