फेवातालदेखि सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने

अन्नपूर्ण केबलकार प्रा.लि.द्वारा केवलकार निर्माणकार्य शुरु

पोखरा,साउन,९-

आगामी १८ महिनापछि पोखराको फेवाताल किनाराबाट सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने भएको छ। अन्नपूर्ण केबलकार प्रा.लि. ले फेवातालको किनाराबाट सराङकोटसम्मको केवलकार निर्माणकार्य शुरु गरेको हो।

पोखरा—२६ सेदीदेखि पोखरा—२६ सराङकोटसम्म यात्रा गर्न सकिने योजनाका साथ केवलकारको निर्माण कार्य शुरु गरिएको छ। योजना ७५ प्रतिशत नेपाली, १५ प्रतिशत विदेशी र १० प्रतिशत स्थानीय लगानीकर्ताको शेयरमा निर्माण हुनेछ।

निर्माण योजनाका लागि सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले सहवित्तियकरणमा ६६ करोड रुपैंया लगानी गर्ने भएका छन्। योजनाका लागि कुल १ अर्ब रुपैंया लागत अनुमान गरिएको छ।

पहिलो चरणमा १७ वटा केबलकारका डब्बा सञ्चालनमा आउनेछन्। प्रत्येक डब्बामा ८ जना यात्रु बस्न सक्नेछन्। समग्र यात्रा ७ देखि ९ मिनेटसम्मको हुनेछ। यात्रामा ताल, हिमाल र पोखराका मुख्य स्थानहरुको दृश्यावलोकन गर्न सकिनेछ। निर्माणकार्य १८ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ।नेपालखबरवाट