अखाद्य चामल बेच्ने गर्ग फुड प्रोडक्ट्सलाई कारवाही गर्न व्यवसायीहरुको माग

नेपालगञ्ज, फाल्गुन,८-
नेपालगञ्जको धम्बोझीस्थित गर्ग एग्री फुड प्रोडक्ट्सले मापदण्ड विपरित अखाद्य चामल विक्रि गरिरहँदा पनि सरोकारवाला निकाय मौन बसेको भन्दै खाद्य व्यवसायीहरु आक्रोशित भएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेबाट उद्योगको इजाजत लिएपनि उद्योग नै सञ्चालन नगरी भारतको उच्च गुणस्तरको चामलको बोराको हुबहु नक्कल गरी उपभोक्तालाई झुक्याएर कमसल चामल उच्च दरमा विक्रि गरिरहँदा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य कार्यालय र घरेलु कार्यालयले कुनै चासो नदेखाएर गैरकानुनी र मापदण्ड विपरितको कामको साक्षी बसेको आरोप खाद्य व्यवसायीहरुले लगाएका छन् ।

गर्गका सञ्चालक अरबाज मन्सुरीले भारतबाट चामल आयात गरी मापदण्ड विपरित विक्रि गरिरहेको भन्दै त्यसलाई रोक्न माग गर्दै खाद्य व्यवसायीहरुले गत माघ २९ गते जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएपछि फागुन १ गते उद्योगमा छापा मारिएको थियो ।

छापा मारेर मुचुल्का उठाएको खाद्य प्रविधिले अहिलेसम्म प्रतिवेदन नबुझाएपछि आक्रोशित व्यवसायीहरुले आज जिल्ला प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहनुभएका नेशनल सप्लायर्सका सञ्चालक मोहम्मद सफिक बेहनाको नेतृत्वमा गएको खाद्य व्यवसायीहरुको टोलीले छापा मारेको एक हप्ता वितिसक्दा पनि प्रतिवेदन बुझाउन आनाकानी भइरहेको प्रति चासो व्यक्त गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी सुनारले खाद्य प्रविधिले अब एक दुई दिनमै प्रतिवेदन बुझाउने र त्यसैअनुसार नै कारवाही प्रक्रिया अघि बढाइने आश्वासन दिनुभयो । ‘गर्गले उद्योगको इजाजत लिएपनि उद्योग नै सञ्चालन नगरी सिधै चामल प्याकेजिङ्ग गरेर विक्रि गरिरहेको देखियो, ४ वटा गोदामका विभिन्न बोराबाट चामलको नमुना लिइएको छ, रिपोर्ट आइसकेपछि हामीले सञ्चालकलाई बोलाएर बयान लिन्छौं, दोषी प्रमाणित भए कारवाहीको दायरामा ल्याउँछौं,’ सुनारले भन्नुभयो,‘हाम्रो प्रारम्भिक निक्र्यौल गर्गले गरैकानुनी काम गरिरहेको भन्ने छ, रिपोर्ट आएपछि थप प्रोसेस चाल्छौं ।’

त्यसक्रममा व्यवसायी बेहनाले मापदण्ड विपरित गैरकानुनी काम गरिहेको प्रष्ट हुँदाहुँदै पनि एक्सन नलिइनु मिलेमतोको स्पष्ट संकेत भएको जिकिर गर्नुभएको थियो । त्यसअघि आजै घरेलु कार्यालय पुगेको खाद्य व्यवसायीहरुको टोलीलाई घरेलुले गैरजिम्मेवारपूर्ण जवाफ दिएको बेहनाले बताउनुभयो ।

‘घरेलुका कर्मचारीले हाम्रो काम इजाजत दिने हो, अनुगमन हाम्रो काम होइन भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिए,’ बेहनाले भन्नुभयो,‘उद्योगको इजाजत लिएर उद्योग नै सञ्चालन नगर्ने र उद्योगका लागि चाहिने पूर्वाधार नै नभएपछि घरेलुले चासो लिनुपर्नेमा उल्टै गैरजिम्मेवारपूर्ण जवाफ आउँदा हामीलाई मिलेमतोको शंका छ ।’

गर्गले उद्योगको इजाजत लिएर पनि कुनै उत्पादन नगरेको, आफूले कुनै उत्पादन नगरी बोरामा उत्पादन मिति राखेको, भन्सार छलेर चामल ल्याई राजश्व ठगी गरेको र कमसल चामल विक्रि गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेकाले सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहँदा पनि यसमा चासो नलिइनु शंकाको विषय भएको खाद्य व्यवसायीहरुले बताएका छन् ।