काठमाडौं,असोज,२-पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।२४ घण्टामा ११४५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् ।सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।
आइसोलेसनमा ९२९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८०८८ जना रहेका छन् ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
उपत्यकामा कोरोना संक्रमितको संख्या शुक्रबार हाललेसम्मकै उच्च संक्रमित भेटिएका हुन् ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।मृत्यु भएकामध्ये ५ पुरुष र २ महिला छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा ६६–६६ वर्षका दुई पुरुष, काठमाडौंमा ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ वर्षीया महिला र नवलपरासीमा ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।