इन्द्रेणी जस्तै संघीय संसद् भवन

काठमाडौं,फागुन,२१-

सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ ग्रहण समारोहलाई लिन सकिन्थ्यो ।

अन्य दिनमा साधारण पोशाकमा देखिंदै आएका अधिकांश सांसदहरु आज आ–फ्ना जातीय वेशभूषामा देखिंदै कतिपयलाई त झट्ट चिन्न पनि गाह्रो पर्दथ्यो ।आ–आफ्नै वेशभूषामा सजिएका प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य आपसमा बधाई साटासाट गर्न र सेल्फी खिच्न व्यस्त थिए ।

नेपाली पोशाक दौरा सुरुवाल लगाउने पनि भेटिएका थिए भने थारु, मगर, गुरुङ, मारवाडी, मुसलवान समुदायको वेशभूषामा सजिएका सांसद्ले राष्ट्रिय तथा स्थानीय समस्या समाधान गर्न र संविधान कार्यान्वयनमा पूर्णरुपमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए । आजको हिमालय टाइम्समा खबर छ ।