शर्मा ४५ लाख धरौटीमा रिहा

काठमाडौ,फागुन,२१-

विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँकी पत्नी भने अदालतमा हाजिर हुनुभएको छैन,’ श्रेष्ठले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्ति मुद्दामा शर्मा आइतबारै अदालतमा उपस्थित भएका थिए । विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी मागको आदेश दिएको हो ।

उनीविरुद्ध ४ करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो ।यसअघि कर फछ्र्योट आयोगको सदस्यसचिव रहँदा १ अर्ब राजश्व हिनामिना गरेको अभियोगसहित अख्तियारले अर्को मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पनि अदालतले मागेको १ करोड रुपैयाँ धरौटी रकम बुझाएर शर्मा अदालती तारेखमा छन् । आजको अन्नपूर्णमा खबर छ ।