बि गाउँमा तोकियो खजुरा गाउँपालिका केन्द्र

नेपालगन्ज, फाल्गुन,८-
खजुरा गाउँपालिकाको चौथो गाउँसभाले खजुरा गाउँपालिकाको केन्द्रको टुंगो लगाएको छ ।खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा आज बुधवार बसेको गाउँपालिकाको चौथो सभामा मतविभाजन प्रक्रियाबाट केन्द्रको टुंगो लगाइएको हो । वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको केन्द्र राख्ने गरी दुईतिहाई सदस्यले सभाबाट पारित गरेका हुन् ।

गत माघ १५ गतेदेखि शुरु भएको चौथो गाउँसभामा केन्द्रको विषयमा विवाद आएपछि वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा वडाध्यक्षहरु सहभागी रहेको कार्यदल बनाइएको थियो ।

फागुन १ गतेसम्म बैठक स्थगित भएकोमा कार्यदलले पुनः समय माग गर्दै कार्यदलमा राजनीतिक सहल्लाहकार भीम वली, कानूनी सल्लाहकार विकास आचार्य र विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायलाई थप गरेपछि कार्यदलले आज बसेको बैठककमा प्रतिवेदन प्रस्तुत गरेको थियो ।

त्यसपछि वडा नं. २ का वडाध्यक्ष देविलाल शर्माले बी गाउँमा केन्द्र तोक्ने प्रस्ताव, वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले यथास्थानमा र वडा नं. ५, ८ का वडाध्यक्ष क्रमश ः देवेन्द्रमान श्रेष्ठ र फिरोज खानले क गाउँमा केन्द्र तोक्ने विषय अघि सारेपछि मतविभाजन प्रक्रियाबाट टुंग्याइएको थियो ।

उपप्रमुख एकमाया विकले सभामा खजुरा गाउँपालिकाको केन्द्र बि गाउँमा तोक्नका लागि हुन्छ भन्नेले हुन्छ र हुन्न भन्नेले हुन्न भनेर मतविभाजन गराएपछि दुईतिहाई सदस्य हुन्छ भन्ने पक्षमा देखिएपछि केन्द्र बि गाउँमा टुंगो लागेको थियो । चौथो गाउँसभाले वडा नं. ४ मा फुटबल मैदान र क गाउँमा इलाका प्रशासन राख्ने गरी पारित गरेको छ ।

सभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले नयाँ तोकिएको केन्द्रमा भवन निर्माणका लागि १ करोड रुपैयाँ छुट्याउन राखेको प्रस्ताव पनि सभाले पारित ग¥यो । प्रमुख कक्षपतिले खजुरा गाउँपालिकामा आवश्यकताको आधारमा योजनाहरु छनौट भई लागू हुने गरेको बताए ।

सभामा वडा सदस्यहरु डिल्लीप्रसाद आचार्य, इस्मत अलि साई, समसुल्ला पठानीले पनि आफ्नो राय राखेका थिए भने निशार अलि खाँले कार्यदलको प्रतिवेदन पढेर सुनाएका थिए । केन्द्रको टुंगो लगाएसंगै चौथो गाउँसभा सम्पन्न भएको छ ।