मन्त्रिपरिषद् विस्तार : उपप्रधानमन्त्रीमा थापा सहित चार जना मन्त्री थपिए

नयाँ मन्त्रीहरुको सपथ भोलि हुने : पुराना मन्त्रीलाई पर्सि बर्खास्त गर्ने तयारी

काठमाण्डौं,असोज,२७-

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बन्नु भए पनी मन्त्रालय भने तोकिएको छैन ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि हुने जनाईएको छ । बुधबार बुटवल पुगेका थापा आफैलेपनि निर्वाचनका लागि सरकारलाई स्थायित्व दिन राप्रपा सरकारमा जान लागेको खुलाशा गर्नु भएको थियो । सोमबार मात्र त्यसअघि राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो।

राप्रपालाई सरकारमा भित्र्याउन माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने भएकाले प्रधानमन्त्री देउवा आफूविरुद्ध अविश्वास प्रस्ताव नआउने गरी मन्त्री परिषद् विस्तार गर्ने योजनामा थिए ।

सोहि अनुमान गरिएजस्तै माओवादी मन्त्रीहरुलाई बर्खास्त नगरी प्रम देउवाले थापा लगायत राप्रपाका मन्त्रीहरुलाई विना विभागीय मन्त्रीको हैसियतमा नियुक्त गर्नु भएको छ । शनिवार मध्यरातमा व्यवस्थापिका–संसदको कार्यकाल सकिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र माओवादी केन्द्रमा विलय भएको नेकपा (संयुक्त) का मन्त्रीलाई बर्खास्त गर्नु हुनेछ ।

संसद निर्वाचनका समानुपातिक तर्फको उम्मेदवारी दर्ताको कार्यक्रम (आइतवार) का लागि तय भइसकेको छ। त्यससँगै व्यवस्थापिका–संसदको कार्यकालपनि सकिने भएकाले त्यसपछिमात्र माओवादी मन्त्रीलाई बर्खास्त गर्ने योजनामा देउवा रहेको बताईन्छ ।