बाबुरामले आँखा चिन्ह लिएर एक्लै चुनाव लड्ने

काठमाण्डौं,असोज,२७-

नयाँ शक्ति पार्टीले आँखा चिन्ह लिएर एक्लै चुनाव लड्ने निर्णय गरेको छ। नयाँ बानेश्वरको क्वालिटी ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले तालमेल भएका क्षेत्रमा बाहेक पार्टीबाट एकल उम्मेदवारी दिने निर्णय गरेको हो।

नयाँ शक्तिले गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको भन्दै आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो।

त्यसैगरी बैठकले संविधानको अन्तरवस्तु अस्वीकार गर्ने पार्टीबाहेक अन्य सबैसँग आगामी चुनावमा तालमेल गर्ने र तालमेलबाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ।

बैठकमा संयोजक डा. बाबुराम भट्टराईले तालमेलको विषयमा एमाले र माओवादीसँग भएका छलफलबारे जानकारी गराएका थिए। उनले आफूहरुलाई सम्मानजनक स्थान नमिल्ने भएपछि तालमेल सम्भव नभएको बताउनुभयो ।

जसअनुसार संयोजक डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दिने घोषणा पनि गर्नु भएको छ । त्यसैगरी कृष्णकुमार चौधरीले कैलाली ३, दानबहादुर चौधरी कपिलवस्तु १, प्रेम तामाङ रसुवा र मदन राई खोटाङबाट उम्मेदवार बन्नेछन्।

त्यस्तै समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने र उम्मेदवारी तय गर्न विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्ने अधिकार पनि कार्यालयलाई दिने निर्णय बैठकले गरेको छ।

दशैँलगत्तै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच भविष्यमा पार्टी एकता गर्ने सहमतिसहित आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि तालमेल गर्ने सम्झौता भएको थियो।

जसअनुसार नयाँ शक्ति संयोजक डा. भट्टराईले सूर्य चिन्हबाट चुनाव लड्ने बताइएको थियो। तर पछि सिट बाँडफाँडमा किचलो बढ्दै गएपछि नयाँशक्तिले एक्लै चुनाव लड्ने निर्णय गरेको हो।साभार : नेपाल खबरबाट