हङकङसँग नेपाल पराजित

विश्वकप छनोट खेल्ने सम्भावना लगभग समाप्त

काठमाडौं, असोज २७-

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ ।पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग समाप्त भएको छ ।

आज हङकङस्थित मिसन रोडको मोङकङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपाललाई ८३ रनले पराजित गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अन्तिम बलमा हङकङलाई अलआउट गरेको थियो । हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

हङकङको तर्फबाट जेमी एट्किन्सनले सर्वाधिक ७६ रन बनाए भने नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, बसन्त रेग्मी र करन केसीले २/२ विकेट लिए ।

१९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो प्रदर्शन गर्न सकेन । नेपालले ३४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमात्र बनाउन सक्यो ।

नेपालका तर्फबाट कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । सुरुआती ब्याट्सम्यान सस्तैमा आउट भएपछि नेपाली इनिङ्स धर्मराएको थियो ।

हङकङका लागि एहेसान खानले ५ विकेट लिए । नेपालले हङकङविरुद्ध दोस्रो खेल आइतबार खेल्नेछ ।

दुई वर्षदेखि जारी प्रतियोगतामा हङकङपछि नेपालले युएईसँग दुई खेल खेल्न बाँकी छ । तालिकाको शीर्ष चारमा रहेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्न नेपालले बाँकी रहेका सबै खेलमा सोचेअनुसारको परिणाम निकाल्नुपर्ने थियो ।

हङकङविरुद्धको हारले भने नेपाल डिभिजन ‘टु’मा झर्नेछ । यद्यपि, डिभिजन ‘टु’को प्रतियोगितामा शीर्ष दुईभित्र पर्नसके एक दिवसीय विश्वकप छनोट खेल्ने विकल्प बाँकी नै रहनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हाल ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । १३ अंक जोडेको हङकङ चौथो स्थानमा रहेको छ ।

दुई खेल बढी खेलेको नेदरल्यान्ड्स १८ अंकसहित शीर्ष स्थानमा रहँदा १६ अंक जोडेको पपुवा न्यूगिनी दोस्रो स्थानमा छ ।

यसैगरी, तेस्रो स्थानको स्कटल्यान्डको १५ अंक छ भने १२ अंकसहित केन्या पाँचौं स्थानमा रहेको छ । छैटौं स्थानको नेपालभन्दा तल नामिबयिा र युएई रहेका छन् ।