निर्मला पन्त प्रकरणः एआइजीको प्रतिवेदन खारेज, ‘दिलीप नै दोषी भएको ठहर’

काठमाडौं,माघ,२७-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ ।

स्वर्गीय- निर्मला पन्त

प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज गरेको हो ।

प्रहरी प्रधान कार्यालयले एआइजी बस्न्यातको नेतृत्वमा समिति गठन गरी छानबिन गर्न निर्देशन दिएको थियो । एआइजी बस्न्यातको टोलीले प्रतिवेदन तयार पारी प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बुझाएको थियो ।

यद्दपी सो प्रतिवेदनबारे प्रहरी संगठनभित्रै असन्तुष्टि बढेपछि प्रहरी महानिरीक्षक सचिवालयले पुनरावलोकन गराउँदा ‘टर्चर’ दिएर गलत बयान दिन लगाएको र अनुसन्धानमा खुलेको विषय नै नसमेटेको खुलेपछि सचिवालयले प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

बस्नेत नेतृत्वको समितिमा रहेका तत्कलीन एसपी उत्तमराज सुवेदी र गणेश रेग्मीको हस्ताक्षर बिना बस्न्यातले सो प्रतिवेदन बुझाएको थियो ।

यसैबीच पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलिपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई आईतबार निर्देशन दिएको छ ।

कञ्चनपुर भीमदत नगरपालिका २ स्थित खोन्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो । ईमेजखबरबाट