बागलुङमा जिप दुर्घटना : १४ को मृत्यु १० जनाको सनाखत

बागलुङ,मंसिर,१७-

बागलुङ  जिल्लाको पश्चिम बडिगाडमा भएको जिप दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका-५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताउनुभयो। 

मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएका छन्। एक बालक हराइरहेका छन्। दुर्घटनामा परेका सबै निसीखोलामा कुलपुजाका लागि जाँदै गरेको बुझिएको घटनास्थलमा रहेका स्थानीय दिनेश शर्माले बताउनुभयो।

मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका-५का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सिता कार्की, भवि कार्की, भुमि कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाथ नगरपालिका-१ बस्ने भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका७ नरमाया खत्री रहेका छन्। 

मृत्यु हुने अन्य चार जनाको भने सनाखत हुन सकेको छैन। मृत्यु भएकाहरुको बुर्तिबाङ अस्पतालमै पोस्टमार्टम गरि शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका-२का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका-४का हिमाल कार्की र निमा केसी रहेका छन्। 

उनीहरुको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाडौं लैजाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताउनुभयो ।
 
दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका-४ का १५ वर्षे धनबहादुर कार्की बेपत्ता भएका छन्। उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख भट्टले जानकारी दिनुभयो। गुल्मीको इश्मा गाउँपालिका-५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप बडिगाड गाउँपालिकामा दुर्घटना भएको थियो। साभार अन्नपुर्णबाट