बाह्रविसेमा घरटहरा भत्काउँदा विरोध प्रदर्शन, निषेधाज्ञा जारी

सिन्धुपाल्चोक,माघ,५-सिन्धुपाल्चोकको बार्‍हविसेमा बाटो बिस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुश गरेपछि निशेधाज्ञा जारी गरिएको छ ।

बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि हिजो स्थानीयले नाराजुलुस गरेकाले निशेधाज्ञा जारी गरिएको हो ।स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी  तोडफोड गरेका थिए ।

आज(आइतबार) पनि हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३.क) बमोजिम निशेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले जानकारी दिए ।

आज बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभएसम्मका लागि पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी आदेश जारी गरिएको छ ।

बाह्रविसे बजारबाट पूर्वमा ३०० मिटर, पश्चिममा भोटेकोशी खोला, उत्तरमा इलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिस्कररक्षमादेवी जानेबाटोको सुनकोसी चोकसम्म निशेधाज्ञा जारी गरिएको हो ।साभार ईमेजखबरबाट