खोटाङ्गका सबै स्थानीय तह सडक सञ्जालमा जोडियो

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,७-
खोटाङ्ग जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् ।

गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा सञ्चालन गरिएको यातायात व्यवसायी संघ, खोटाङका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो ।

सबै स्थानीय तहबाट सदरमुकाम दिक्तेलसम्म सिधा यातायात शुरु भएपछि दुर्गम क्षेत्रका स्थानीयबासीसमेत एकै दिनमा घरबाट हिँडेर पुनः घरै पुग्न थालेका छन् । यातायात सेवा नहुँदा यसअघि जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रका स्थानीय तीन दिनसम्मको पैदल यात्रापछि सदरमुकाम आउने गरेका थिए ।

जयरामघाटमा पक्की पुल बनेपछि उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाबाट सिधै काठमाडौँ, कटारीलगायतका ठाउँमा समेत सिधा यातायात शुरु गरिएको महासचिव हिङ्माङले जानकारी दिनुभयो ।

गत मंसिर ८ गतेदेखि दूधकोशीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएपछि खोटाङ राजधानी काठमाडौँलगायत अन्य जिल्लासँग सिधा सडक सञ्जालमा जोडिएको हो ।

जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि गत मंसिर १९ गतेदेखि छिमेकी जिल्ला भोजपुरसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ । अर्को छिमेकी जिल्ला भएर तराईका अन्य जिल्ला जोड्ने फोक्सिङ्टारस्थित सुनकोशीमा निर्माणाधीन अस्थायी बेलिब्रिज जडान सकिएलगत्तै दिक्तेल–गाईघाट सडक पनि सञ्चालनमा ल्याउने तयारी गरिएको यातायात व्यवसायी संघले जनाएको छ ।

विसं २०६४ देखि यातायात सेवा शुरु भएको जिल्लामा अहिले साना ठूला गरी करिब २०० को हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । दुईवटा राष्ट्रिय राजमार्गले छोएको खोटाङ जिल्लामा हालसम्म सबै सडक कच्ची अवस्थामै रहेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक खण्डमा अहिले तीव्रगतिमा कालोपत्रे गर्ने काम भइरहेको छ । तराईका जिल्ला जोड्ने अर्को सडक सगरमाथा राष्ट्रिय राजमार्गको महुरे–फोक्सिङ्टार खण्डमा पनि कालोपत्रेको काम थालिएको छ ।